प्रियंकाको पीडा
सामाजिक सञ्जालमा प्राप्त हुने कमेन्टबाट आहत नायिका प्रियंका कार्कीले हालै आफ्नो पीडा उक्त प्लेटफर्ममै अभिव्यक्त गरेकी छिन् । ‘मेरो मन रुवाउनेहरूका लागि’ शीर्षकमा उनले आफ्नो व्यक्तिगत सम्मानमा ठेस पुग्ने गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कमेन्ट लेखेकोमा आपत्ति जनाएकी हुन् ।
‘जब जब म नयाँ फोटो, फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन मलाई यति धेरै गाली गर्नुहुन्छ ? के मैले कसैलाई कुनै प्रकारको चोट पुर्याएँ ?’

प्रियंकाले आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन्– ‘...., ....., वेश्याजस्ता शब्द प्रयोग गरेर तपाईंहरूलाई बडा आनन्द महसुस हुन्छ हो ? एकदमै महान् काम गरेजस्तो लाग्छ ?’ प्रियंकाका अनुसार कलाकारका रूपमा दिनरात नभनी मेहनत गर्नुको उद्देश्य यस्तो आलोचना खेप्न होइन । त्यस्ता कमेन्ट लेख्नेहरूसँग उनले घरमा छोरी–चेली, दिदी–बहिनी, आमा–भाउजू छैनन् ? भनेर प्रश्नसमेत गरेकी छिन् । ‘तपाईंहरूका घरका महिलालाई यस्तो लेख्दा तपाईंलाई कस्तो महसुस हुन्छ ?’ प्रियंकाले लेखेकी छिन्– ‘मेरो परिवारका सदस्यलाई पनि यस्ता अश्लील कमेन्टले चोट पुर्याउँछ ।’ प्रियंकाले आफूलाई मन नपराउनेहरूलाई आफ्नो फ्यान पेजमा नआउन आग्रहसमेत गरेकी छिन् । बरु आफूलाई ब्लक गर्न अनुरोध गर्दै प्रियंकाले भनेकी छिन्– ‘तर कृपया नराम्रा प्रतिक्रिया नलेखिदिनुस् ।’
source ekantipur.com
0 comments
Write Down Your Responses