शाहरुखलाई उपदेश
वैशाख १६, २०७३- रामगोपाल बर्मा भन्छन्–‘फयान’ फिल्म खेल्नेजस्तो गल्ती मेगास्टार शाहरुखले गर्दै गए भने उनी कुनै बेला सामान्य कलाकार हुन सक्नेछन्।
बलिउड निर्देशक रामगोपाल बर्मा फिल्मका लागि मात्रै नभई कडा टिप्पणीका लागि पनि चिनिन्छन्। सहकर्मी फिल्मकर्मीको कडा आलोचना गर्ने भएकोले पनि रामु बलिउडमै अलोकप्रिय पनि छन्। तर उनी भन्न छोड्दैनन्।
फिल्म ‘रा.वन’ कै समीक्षात्मक टिप्पणी गर्ने क्रममा उनले शाहरुख खानलाई कटाक्ष गर्दै ‘रजनीकान्तको एक मिनेटको फिल्म, बाँकी बकवास’ भनेका थिए। शाहरुखकै निर्माण तथा मुख्य अभिनय रहेको फिल्ममा रजनीकान्त अतिथि भूमिकामा थिए।
यतिबेला आएर उनले फेरि शाहरुखलाई च्यापेका छन्। त्यसो त ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनिन्छ, शाहरुख पनि पछिल्लो समय करिअरको नाजुक घडीबाट गुज्रिरहेका बेला रामुको पछिल्लो स्टेटमेन्ट आएको छ।
‘शाहरुख खान यतिबेला आफ्नो बचेखुचेको स्टारडम पनि सलमान खानका लागि गुमाइरहेका छन् जसरी कुनै बेला कमल हासनले रजनीकान्तका लागि गुमाएका थिए,’ रामगोपालले शाहरुखको फिल्म छनोटप्रति पनि औंला उठाउँदै भनेका छन्, ‘उनले कमलको कमजोरीबाट सिकेर सलमान जस्तो बनून्।’
फिल्म ‘किलिङ विरप्पन’ बाट पुन: बलिउडमा धमाका मार्ने आशा गरिएका रामगोपालले ट्वीटमार्फत् शाहरुखप्रति टिप्पणी गरेका हुन्। उनले शाहरुखको पछिल्लो फिल्म ‘फ्यान’ को छनोटप्रति पनि असन्तुष्टि जनाउँदै कमलले ‘अप्पु राजा’ खेल्दाको जस्तै गल्ती गरेको बताएका छन्।
‘मेगास्टार शाहरुख पनि गल्ती गर्दै गए भने कुनै बेला सामान्य हुन सक्नेछन्,’ रामुले भनेका छन्, ‘जुन बेला कमल पनि रजनीकान्तभन्दा ठूला स्टार थिए, यस्तै गल्तीले कहाँ पुर्यायो। शाहरुखले पनि आसेपासेका गलत सल्लाहहरू नसुनून्।’


0 comments
Write Down Your Responses