अल्झनमा हिमालय एअरलायन्स
दिल्ली नपाएपछि दोहाको तयारी, हाल कोलम्बोको नन सेड्युल उडानमा
वैशाख १५, २०७३- भारतले अनुमति नदिएपछि हिमालय एयरलाइन्सले कोलम्बोतर्फ निश्चित तालिकाबिनै (नन सेड्युल) उडान थालेको छ । चिनियाँ लगानीकर्तासँगको साझेदारीमा खुलेको उक्त कम्पनीले चैत अन्तिममा व्यावसायिक उडान थाल्ने प्रयास गरे पनि सम्भव नभएपछि कोलम्बो नन सेड्युल उडान थालेका थिए ।
गत फागुन २६ गते पहिलो एयरबस ए–३२० जेट विमान चीनको छेन्दु हुँदै काठमाडौं ओरालेको हिमालयले त्यसअघि देखिनै काठमाडौं–दिल्ली–काठमाडौं उडानका लागि भारतको नागरिक उड्डयन कार्यालयमा प्रक्रिया थालेको थियो । तर, दुई महिना बढी सयम बित्न लाग्दा पनि दिल्लीबाट अनुमतिको सुरसार नमिलेपछि हिमालयले काठमाडौंमा थन्किरहेको विमानलाई कोलम्बोतर्फ उडाउन थालेको हो । ‘दिल्ली प्रमिट प्रोसेसमै छ,’ हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले कान्तिपुरसँग भने, ‘अनुमतिबारे टुंगो लागिसकेको छैन ।
उनीहरूलाई अनुमतिका लागि आवश्यक पर्ने कागजात सबै बुझाइसकेका छौं, बेलाबेला थप माग्दा पनि दिइरहेका छौं ।’
उच्च स्रोतका अनुसार ४९ प्रतिशत मात्र तिब्बत एअरलायन्सको सेयर लगानी रहेको भनिएको हिमालय एअरलायन्सबारे भारत नागरिक उड्डयनले शंका व्यक्त गरेको छ । ‘४९ प्रतिशत सेयर चिनियाँ लगानीकर्ताको र ५१ प्रतिशत नेपाली लगानीकर्ताको भनिए पनि भारतले शंका गरिरहेको छ,’ हिमालय एअरलायन्ससँग निकट स्रोतले भन्यो, ‘तर, भारत हिमालय एअरलायन्समा नेपाली लगानीकर्ताको सेयरबारे प्रस्ट हुन सकिरहेको छैन । ऊ यसको लगानी चिनियाँ कम्पनीकै लगानी हाबी हुन सक्ने ठानिरहेको छ ।’ उडड्यन क्षेत्रसँग सम्बन्धित एक व्यवसायीका अनुसार हिमालय एअरलायन्सको लगानीमा जबसम्म भारत प्रस्ट हुन सक्दैन तबसम्म उसले आलटाल गरिरहने छ । ‘अन्तर्राष्ट्रिय उडड्यन नियमअनुसार अनुमति रोक्न त मिल्दैन तर लगानीकै कारण झुलाइरहन सक्छ,’ ती व्यवसायीले भने ।
काठमाडौंमा जहाज ल्याउने बित्तिकै सबैभन्दा पहिले दिल्ली उडान भर्ने घोषणा गरेको हिमालयले दिल्लीको अनुमति ‘बेलैमा’ नपाएपछि गत चैत २७ गते एकाएक ५ दिने कोलम्बो उडानको अफर सार्वजनिक गरेको थियो । उक्त अफरले दुइतर्फी भाडा ५५ हजारमा बिजनेस श्रेणीको र ३५ हजारमा इकोनमी श्रेणीको टिकट अफर गरेको थियो । ५ दिन ४ रातको उक्त अफरमा टिकट खरिद गर्ने यात्रुलाई जहाजले कोलम्बो लैजाने र त्यही जहाजमा फर्काउने भनेको थियो । यो उसको योजना अन्र्तगतको नभई आकस्मिक कार्यक्रम हो । यो अवधिमा दिल्लीको अनुमति आइनसकेकाले यसले फेरि वैशाख २१ गते कोलम्बो जाने र २५ गते फर्किने दोस्रो कार्यक्रम ल्याएको छ । यसले अफर गरेको रकममा कोलम्बो जानेहरूलाई खान/बस्नको पनि सुविधा दिइएको छ ।
काठमाडौंमा रहेका आउटवाउन्ड ट्राभल एजेन्सीसँग मिलेर ल्याइएको यो कार्यक्रम व्यावसायिक उडान भए पनि नियमित उडान भने होइन । यस्तो उडानका लागि एअरलायन्सले उडान भर्नुभन्दा अघिल्लो दिन मात्रै अनुमतिका लागि नागरिक उड्डयन कार्यालयमा निवेदन दिनुपर्छ । सम्बन्धित मुलुकका उड्डयन कार्यालयहरूले नियमित उडान तालिकापछि मात्रै यस्ता उडानलाई प्राथमिकता दिन्छन् । जसलाई उड्डयन भाषामा दोस्रो दर्जाको प्राथमिकता भन्ने गरिन्छ । दिल्लीको अनुमति प्रक्रिया चलिरहेकैबेला प्रधानमन्त्री केपी ओली निकट मानिएको नेपाली लगानीकर्ता कम्पनी यती वल्र्ड इन्भेस्टमेन्टले यो विमानलाई चीन उडाएका थिए । प्रधानमन्त्री केपी ओलीसहित १ सय हाराहारी विशिष्ट व्यक्तिहरू सम्मिलित उक्त उडानले प्रधानमन्त्रीको पूरै भ्रमण अवधिभर जहाज सित्तैमा चीन पुर्याएको थियो । ‘कमर्सियल’ नभई ‘नन–रेभेन्यु चार्टर फ्लाइट’ भनिएको उक्त जहाजले सरकारी टोलीलाई चीन भित्रका आन्तरिक रुटमा पनि सित्तैमा उडाएको थियो ।
उपाध्यक्ष श्रेष्ठले दिल्लीको अनुमति प्रक्रिया लम्बिएकाले कतारको दोहोका लागि व्यावसायिक उडान भर्ने सम्भावना रहेको बताएका छन् । दोहा हिमालयको दोस्रो प्राथमिकतामा राखिएको थियो । ‘दोहोको अनुमति प्रक्रिया करिब करिब टुंगोमा पुगेको छ, दिल्लीभन्दा पहिले दोहा होलाजस्तो छ,’ श्रेष्ठले भने ।
काठमाडौं विमानस्थललाई हब बनाउँदै सुरुमा दिल्ली अनि दोहा उडान भर्ने योजना बनाएको हिमालयले यी दुई गन्तव्यपछि चीनको ल्हासा, चेंगदु र बेइजिङ पनि उडान भर्ने योजना सार्वजनिक गरेको थियो । यसले आगामी ५ वर्षभित्र एअरबसको ए–३२० सिरिजसहित १५ वटा विमान थपेर जापान, कोरिया, युरोप, अमेरिका र अस्ट्रेलिया सम्मको उडान गर्ने पनि भनेको छ ।
तर, यस एअरलाइन्सले व्यावसायिक उडान नथाल्दै लगानीकर्ताबीच मनमुटव सुरु भएको छ । एक जना लगानीकर्ताका अनुसार नेपाली लगानीकर्ताका तर्फबाट हिमालय एअरलायन्ससँग जोडिएका बैंकर पृथ्वीबहादुर पाँडेको सेयर रहेको कम्पनी एचआईएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी पूरै ५१ प्रतिशत लगानी यती एयरलायन्सका मुख्य लगानीकर्ता आङछिरिङ शेर्पाको यती वल्र्ड इन्भेस्टमेन्ट समूहलाई छाडेर बाहिरिएका छन् । पाँडे समूह बाहिरिएसँगै हिमालयको लगानीबारे भारतको चासो बढेको यस निकट व्यवसायीहरूले अनुमान गरेका छन्


0 comments
Write Down Your Responses